आइसिसी विश्व क्रिकेट लिग–२ को लागि नेपाली टोली ओमान प्रस्थान

काठमाडौं (खेलाडी) – आइसिसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली टोली मंगलबार बिहान ओमान प्रस्थान गरेको छ । ओमानमा हुने विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली ओमान र अमेरिकाविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको लागी नेपाली टोली मंगलबार बिहान त्यसतर्फ लागेको हो ।

नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । शृंखलाको लागी ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ खेलाडीसहित २२ सदस्यीय टोली ओमान प्रस्थान गरेको हो ।

नेपाल, ओमान र अमेरिकाबीचको शृंखला भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । खेल तालिका सार्वजनिक भएको छैन ।
शृंखलाअघि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ तालिका रहेको छ । नेपालले पीएनजीसँग भदौ २० र २३ मा दुई एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ ।

ओमान भ्रमणमा निस्किएको नेपाली टोली:

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ, रोहित कुमार पौडेल

मुख्य प्रशिक्षक- डेभ वाटमोर
व्यवस्थापक– मोहमद दाउद अन्सारी
टेक्निकल एनालिस्ट– रमण शिवाकोटी
फिजियो– बिक्रम न्यौपाने
ट्रेनर– राकेश गोहिल