आइपिएल

दिल्लीको चौथो जित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ । आइपिएलअन्तर्गत बिहीबार भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई चार विकेटले पराजित गर्यो ।

वान्खडे रंगशालामा कोलकाताले दिएको एक सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

दिल्लीको जितमा डेविड वार्नरले सर्वाधिक ४२ रन बनाए । यसबाहेक, रोभम्यान पोवेलले ३३, अक्सर पटेलले २४ र ललित यादवले २२ रन बनाए ।

कोलकाताका उमेश यादवले तीन विकेट लिँदा हर्षित राना र सुनिल नारिनले एक एक विकेट लिए ।

त्यसअघि नितिश राणाको अर्धशतकप्रेरित कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४६ रनको योगफल तयार पारेको थियो ।

कोलकाताका नितिशले ५७ रन बनाए । यस्तै, कप्तान श्रेयस ऐयरले ४२ र रिंकु सिंहले २३ बनाए ।

दिल्लीका कुलदीप यादवले सर्वाधिक चार विकेट लिए । यस्तै, मुस्तफिजुर रहमानले तीनसँगै चेतन साकारिया र शार्दुल ठाकुरले एक एक विकेट लिए ।

जितसँगै आठ खेलबाट आठ अंक जोडेको दिल्ली छैटौं स्थानमा उक्लिएको छ । यस्तै, नौं खेलबाट ६ अंक जोडेको कोलकाता आठौं स्थानमा छ ।