भारतीय क्रिकेट

क्रिकेटर रिद्धिमान साहालाई धम्क्याउने पत्रकारलाई प्रतिबन्ध

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व विकेटकिपर ब्याटर रिद्धिमान साहालाई धम्क्याएको आरोपमा पत्रकार बोरिया मजूमदारमाथि प्रतिबन्ध गरिने भएको छ ।

रिद्धिमानलाई धम्क्याएको सन्दर्भमा भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) को तीन सदस्यीय समितिले बोरियालाई दोषी ठहर गरेको हो । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब पत्रकार बोरियालाई भारतीय क्रिकेट रंगशाला प्रवेशमा प्रतिबन्ध गरिने र खेलाडीलाई भेट्ने अनुमति पनि प्रदान गरिने छैन ।

रिद्धिमानले धम्कीको बारेमा सामाजिक सञ्जालमा समेत पोस्ट गरेका थिए । जसमा उनले अन्तरर्वाताको प्रस्ताव आफूले अस्वीकार गरेपछि पत्रकारले धम्की दिएको उल्लेख गरेका छन् ।

यस्तै, एक अधिकारीका अनुसार बोरियालाई कालो सूचीमा राख्न बिसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय आइसिसीलाई पनि पत्रचार गरिने छ ।