विराट काेहली

शास्त्रीपछि अजहरुद्दीनले दिए कोहलीलाई आरामको सल्लाह

मुम्बई । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद अजहरुद्दीनले रोयल च्यालेन्जर्स बैंगलोरका ब्याटर विराट कोहलीलाई केही समय आराम बस्न सल्लाह दिएका छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल) यो सिजन स्वभाविक लय भेट्टाउन निकै संघर्षरत कोहलीलाई यसअघि भारतीय टोलीका पूर्व प्रशिक्षक रवि शास्त्रीले पनि केही समय विश्राम लिन सल्लाह दिएका थिए ।

यस सिजन आइपिएलका आठ खेलमा एक सय १९ रनमात्र बनाएका कोहली पछिल्लो दुई खेलमा ‘गोल्डेन डकआउट’ भएका थिए । यस्तै, त्यसअघिको खेलमा पनि कोहली एक रनमै पभेलियन फर्किएका थिए ।  

‘मलाई लाग्छ कोहलीले धेरै क्रिकेट खेलिसके । र, मलाई थाहा छ उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट पर्याप्त ब्रेक लिएका छन्,’ अजहरुद्दीनले भने, ‘तर, आइपिएलमा लगातार खेलिरहँदा यसको असर देखापर्न थाल्छ । उनको फुटवर्क निकै सुस्त भएको छ । उनले आइपिएलका दुई–तीन खेलबाट ब्रेक लिन र आफूलाई फुर्तिलो राख्न आवश्यक छ ।’

आइपिएलमा आठ खेलबाट १० अंक जोडेको बैंगलोर तालिकाको चौथो स्थानमा छ । यस सिजन विराट कोहलीले बैंगलोरको कप्तानी छाडेसँगै टोलीको नेतृत्व दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिसले सम्हालिरहेका छन् ।