आइपिएल

कोलकातामाथि गुजरातको रोमाञ्चक जित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सलले कोलकाता नाइट राइडर्समाथि आठ रनको रोमाञ्चक जित निकालेको छ ।

डिभी पाटिल स्पोर्टस एकेडेमीमा गुजरातले दिएको एक सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४८ रनमात्र बनाउन सक्यो ।

कोलकाताका आन्द्रे रसेलले ४८ रन बनाए । यस्तै, रिन्कु सिंहले ३५, वेन्कटेस ऐयरले १७ र कप्तान श्रेयस ऐयरले १२ रन जोडे ।

गुजरातका मोहम्मद सामी, राशिद खान, यस दयलले समान दुई विकेट लिए । यसबाहेक, अल्जारी जोसेफ र लकी फर्गुसनले एक एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५६ रनको योगफल तयार पारेको थियो ।

गुजरातका कप्तान हार्दिक पड्याले सर्वाधिक ६७ रन बनाएका थिए । उनले ४९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस्तै, डेविड मिलरले २७, रिद्धिमान साहले २५ र राहुल तेवातीयाले १७ रन जोडे ।

जितसँगै सात खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । यस्तै, आठ खेलबाट ६ अंक जोडेको कोलकाता सातौं स्थानमा छन् ।