सन्दीपको ठाउँमा पाकिस्तानी बलर यासिरले सिपिएल खेल्ने

काठमाडौं, (खेलाडी)- पाकिस्तानका बलर यासिर शाहले नेपालका लेग स्पिनर सन्दीप लामिछानेको स्थानमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्‍वान्टी-२०  क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

सिपिएल टिम ट्रीनबागो नाइट राइडर्सले सन्दीपको स्थानमा यासिरलाई अनुबन्ध गरेको हो ।

नेपाली राष्‍ट्रिय टिममा व्यस्त हुने भएको कारण सन्दीपले सिपिएल नसक्ने भएपछि उनको टोलीले विकल्पमा यासिरलाई अनुबन्ध गरेको जनाएको छ ।

अगस्ट २८ बाट सुरु हुने प्रतियोगिताकै समय नेपाली टिम ओमान भ्रमणमा जाने भएपछि सन्दीप सिपिएलका लागि उपलब्ध हुन नसक्ने पक्का भएको थियो ।

आइसिसी विश्‍वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपालले ओमानको भ्रमण गर्ने तालिका रहेको छ ।

यस शृंखलाअघि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्‍ट्रिय शृंखला खेल्ने छ ।

सन्दीपले यस अघि तीन सिजन सिपिएल खेलिसकेका छन् । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याटियोट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट प्रतियोगिता खेलेका थिए ।