आइसिसी वरीयता

आइसिसी वरीयताः दीपेन्द्र ट्वान्टी २० अलराउन्डरको शीर्ष १० मा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी २० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् ।

आइसिसी बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औं स्थानमा छन् । दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आइसिसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो ।

यसअघि यो उपलब्धी नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले ट्वान्टी २० अलराउन्डर वरीयताको २५औं स्थान हासिल गरेका थिए ।

घरेलु मैदानमा सम्पन्न त्रिदेशीय शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् ।

यस्तै, ट्वान्टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । पछिल्लो हप्ता वरीयताको ३७औं स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८औं स्थानमा छन् ।

यस्तै, ट्वान्टी २० बलिङ वरीयताको शीर्ष १०० भित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६औं स्थानमा छन् ।

ट्वान्टी २० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६औं र दीपेन्द्र ३८औं स्थानमा छ । यस्तै, ब्याटिङ वरीयताको शीर्ष १०० भित्र अटाएका आसिफ ९९औं स्थानमा छन् ।

यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८औं स्थानमा छन् ।