सन् २००५ पछि पहिलो पटक इङ्ल्यान्डले पाकिस्तानको भ्रमण गर्ने

कराची, (खेलाडी) – इङ्ल्यान्डले आगामी अक्टोबरमा दुई ट्वान्टी-२० खेलका लागि पाकिस्तान भ्रमण गर्ने निश्चित भएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शुक्रबार जनाएको छ ।

सन् २००५ देखि पाकिस्तान भ्रमण नगरेको इङ्ल्यान्डले पहिलोपटक भ्रमण गर्दा पुरुष र महिला टोली सहभागी हुने पिसिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरुष टोलीले दुई तथा महिला टोलीले तीन ट्वान्टी–२० खेल खेल्ने तालिका छ ।

‘इङ्ल्यान्ड पुरुष टोलीले अक्टोबरमा दुई ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलका लागि भ्रमण गर्ने निश्चित भएको छ,’पिसिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ, ‘दुवै खेल रावलपिंडीस्थित पिंडी क्रिकेट रंगशालामा १३ र १४ अक्टोबरमा हुनेछ ।’ अक्टोबरमा भ्रमण गर्न लागेको इङ्ल्यान्डले यस अघि २००५ मा मात्र पाकिस्तान भ्रमण गरेको थियो ।

महिला टोलीले अक्टोबर १७, १९ र २१ मा खेल्ने तालिका रहेको छ । यस्तै न्युजिल्यान्ड टोलीले पनि सेप्टेम्बरमा भ्रमण गर्ने तालिका छ । न्युजिल्यान्डले पनि १८ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेको हो । पाकिस्तान विदेशी टोलीलाई भ्रमण गराएर स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउन चाहन्छ । सन् २००९ मा श्रीलंकन टोलीमाथि पाकिस्तान भ्रमण गर्दा बसमा बम हमला भएको थियो । लाहोरमा भएको उक्त घटनापछि लामो समयसम्म देशहरूले पाकिस्तान भ्रमण गरेनन् ।

यस्तै वेस्ट इन्डिज र अस्ट्रेलया पनि सात महिनाभित्र पाकिस्तानी भूमिमा गएर खेल्ने तालिका रहेको छ । सन् २००९ पछि पाकिस्तानमा कुनै पनि खेलाडी र देशले भ्रमण नगर्ने जनाएका थिए । तर पछिल्ला समय सुरक्षा क्षेत्रमा देखिएको सुधारका कारण केही अन्तर्राष्ट्रिय खेलहरू सम्पन्न भइसकेका छन् । पछिल्ला ६ वर्षयता जिम्बाब्वे, श्रीलंका, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले भ्रमण गरिसकेका छन् । 

सन् २००५ देखि पाकिस्तान भ्रमण नगरेको इङ्ल्यान्डले पहिलोपटक भ्रमण गर्दा पुरुष र महिला टोली सहभागी हुने पिसिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरुष टोलीले दुई तथा महिला टोलीले तीन ट्वान्टी-२० खेल खेल्ने तालिका छ ।