पाँचपोखरी जिल्ला स्तरीय ट्वान्टी २० क्रिकेट

पाँचपोखरीले इन्द्रावतीलाई ६ विकेटले हरायो

भक्तपुर । पाँचपोखरी जिल्ला स्तरीय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सोमबार पाँचपोखरी भोटाङले इन्द्रावती गाउँपालिकालाई ६ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा ७६ रनको लक्ष्य पाँचपोखरीले १३.३ ओभरमा विकेट गुमाएर पूरा गर्यो ।

पाँच पोखरीका बिक्की श्रेष्ठले सर्वाधिक २४ रन बनाए । उलने ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, सार्थक धितालले १२ बलमा दुई चौकासहित १५ रन जोडे ।

इन्द्रावतीका अर्जुन चौलागाइले दुई विकेट लिँदा राजेश चौलागाइ र सरिन कार्कीले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङमा आएको इन्द्रावती गाउँपालिकाले १६ ओभरमा सबै विकेट गुमाउँनुअघि ७५ रनको योगफल खडा गरेको थियो ।

इन्द्रावतीका विवेक चौलागाइले सर्वाधिक २२ रन बनाए । उनले ३५ बलमा दुई चौका प्रहार गरे । यसबाहेक टोलीका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इन्द्रवतीलाई सस्तैमा समेट्ने क्रममा पाँच पोखरीका कमलप्रसाद लम्सालले चार विकेट लिए । कमलले २.१ ओभरमा बलिङ गर्दा ११ रन खर्चिए । यस्तै, सुगम लम्सालले दुई विकेट लिँदा विनोद तामाङ, कमल लम्साल, निरोज लम्साल र अमृत लम्सालले समान एक विकेट लिए ।