पाँचपोखरी ट्वान्टी २० क्रिकेट प्रतियोगिता

पाँचपोखरी ट्वान्टी २० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आइतबारदेखि

काठमाडौं । पाँचपोखरी ट्वान्टी २० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।

राजधानीको मुलपानी क्रिकेट मैदानमा आठ दिनसम्म चल्ने प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । सहभागी टोलीले सिन्धुपाल्चोक जिल्लाका खेलाडी मात्र राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ ।

एक कार्यक्रमकाबीच थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले प्रतियोगिताबाट पाँचपोखरीकाे पर्यटन प्रवर्धन हुने विश्वास व्यक्त गरे ।

‘यस प्रतियोगिताले पाँचपोखरीको पयर्टन प्रवर्धन हुने विश्वास लिएको छु । बहुउद्देश्यीय मैदान निमार्ण गर्न लागिएको छ । जुन मैदान अर्काे संस्करणसम्म तयार हुनेछ,’ लामाले भने ।

यसअघि प्रतियोगिताका नाम ‘जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८एस’ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता थियो । जुनलाई यस सिजन नाम परिमार्जनगरि पाँचपोखरी ट्वान्टी २० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता भएको हो । प्रतियोगिताको तेस्रो संस्करणसम्म पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन भएको थियो ।

प्रतियोगिताको विजेताले ७५ हजार रुपैंया, उपविजेताले ४० हजार रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, विधागततर्फका सर्वाेत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र अलराउन्डर ट्रफी र प्रमाणपत्रले सम्मानित हुने आयोजकले जनाएका छन् ।