सन्दीप लामिछाने

हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

मेलबर्न । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको दुई विकेट मद्दतमा होबर्ट हुरिकेन्सले बुधबार भएको खेलमा मेलबोर्न रेनिगेड्सविरुद्ध ६ रनको जित निकाल्दै बिग बास लिगको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

डकल्यान्ड रंगशालामा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले रेनिगेड्ससामू १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको रेनिगेड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्रै बनाउन सक्यो ।

हुरिकेन्सको जितमा नेपाली कप्तान सन्दीपले ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिए । यस्तै, रेनिगेड्सलाई ६ रन कममै सीमित गर्न हुरिकेन्सका टम रोजर्सले तीन विकेट लिएका थिए ।

ब्याटिङतर्फ हुरिकेन्सका कप्तान म्याथ्यु वेडले सर्वाधिक ४८ रन बनाएर पेभेलियन फर्किँदा टिम डेभिड ४६ रन बनाएर पेभेलियन फर्के । यस्तै डार्ची सर्टले ३७ तथा कालेब जेवेलले ३५ रन जोडेका थिए ।

जितसँगै २७ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको हुरिकेन्सले बाँकी एक खेलमा जित निकाले प्ले अफमा स्थान बनाउने छ । अहिले चौथो स्थानमा रहेको टोली एडिलेड स्ट्राइकर्ससँगको १४ खेलबाट २८ अंक छ ।