प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: एपिएफ फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराएसँगै सशस्त्र प्रहरी बलको एपिएफ क्लब मंगलबार प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा एपिएफले दिएको दुई सय ३१ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ८३ रन मात्रै बनाउन सक्यो ।

एपिएफका लागि आशिफ शेखले सर्वाधिक ८४ रन बनाए । उनले ४३ बलमा पाँच छक्का र १० चौका प्रहार गरे । यस्तै, लोकेश बमले ६६ रन जोड्दा प्रदीप ऐरीले ५७ रनको योगदान गरे ।

आर्मीका जितेन्द्र मुखिया र सुमितले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै दुई सय ३० रनको लक्ष्य आर्मीसामू प्रस्तुत गरेको थियो ।

आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रनको योगदान गरे । उनले २१ बलमा चार छक्का र एक चौका प्रहार गरे । यस्तै, भिम सार्कीले ३५, सुमित श्रेष्ठले २४, हरी चौहानले २२, शाहब आलमले २१ र विक्रम सोबले १२ रनको योगदान दिए ।

एपिएफका सरद भेषवाकरले तीन विकेट लिदाँ भुवन कार्की र अभिनाश बोहराले समान दुई तथा दिपक बोहरा र किशोर महतोले समान एक विकेट लिए ।

प्रतियोगिताको फाइनलमा बुधबार नेपाल पुलिस क्लब र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिसले यसअघि पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको थियो ।