प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: पुलिसले बागमतीलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं । पवन सर्राफको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशसामु एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रनको योगफल खडा गर्यो ।

पुलिसका पवनले सर्वाधिक ५९ रन बनाए । उनले ५४ बलमा समान तीन चौका र छक्का प्रहार गरे । त्यस्तै दीलिप नाथले ३१, अनिल साहले २५ र आरिफ शेखले १२ रन जोडे ।

बागमतीका नन्दन यादव र रिजन ढकालले दुई दुई विकेट लिँदा प्रतिश जिसीको नाममा एक विकेट रह्यो ।

प्रतियोगितामा अपराजित रहेको पुलिस समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । त्यस्तै बागमतीले समूह बी को उपविजेताको रुपमा सेमिफाइनलको टिकट काटेको हो ।