प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: सेमिफाइनल पुग्ने चार टाेलीकाे टुङ्गाे

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएका दुई खेलसँगै प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ ।

आइतबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई सात विकेटले पराजित गरेसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको हैसियतमा सेमिफानइलको यात्रा तय गर्यो । प्रदेश १ ले सेमिफाइनल सम्भावना जिवित राख्न आइतबारको खेल जित्नैपर्ने थियो । तर, सुदूरपश्चिमसँग निराश बनेसँगै प्रदेश १ को यात्रा समूहचरणमै सीमित बन्यो ।

त्यस्तै दिनको दोस्रो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि पाँच विकेटको जित निकाल्यो । दुवै टोली समूह चरणबाटै बाहिरिसकेका भए पनि लुम्बिनीले जितसहित प्रतियोगिताको सुखद् अन्त्य गर्यो ।

गण्डकी प्रदेशका लागि भने प्रतियोगिता बिर्सन लायक रह्यो । गण्डकीले समूह चरणका चार खेलमध्ये सबैमा पराजित भयो ।

सेमिफाइनल पुग्ने चार टोली

पुस २६ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशगरि १० टोली सहभागी छन् । र, नेपाल क्रिकेट संघ (क्यान) ले सहभागी टोलीलाई एक समूहमा पाँच टोली रहनेगरि दुई समूहमा विभाजन गरेको थियो ।

समूह ‘ए’ मा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश १ थिए । जसबाट पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरे ।

तीन खेलबाट ६ अंक जोडेको पुलिस एक खेल अगावै समूह विजेता बन्दा दोस्रो स्थानको आर्मीले चार खेलबाट पाँच अंक जोड्यो ।

समान खेलबाट चार जोडेको सुदूरपश्चिम र दुई अंक जोडेको कर्णालीले चौथो स्थान रहदै प्रतियोगिताको अन्त्य गरे । समूहको पुछारमा रहेको प्रदेश १ ले तीन खेलबाट एक अंक जोडेको छ । प्रतियोतिगाको अन्तिम खेलमा प्रदेश १ ले पुलिसको सामना गर्नेछ ।

समूह ‘बी’ बाट एपिएफले अपराजित रहँदै सेमिफाइनल यात्रा तय गर्यो । त्यस्तै चार खेलबाट ६ अंक जोडेको बागमती उपविजेता बन्दा समान खेलबाट चार अंक जोडेको लुम्बिनी तेस्रो स्थानमा रह्यो । दुई अंकमात्र जोडेको प्रदेश २ र जितविहीन बनेकाे गण्डकी तालिकाको अन्तिम दुईमा रहे ।

सेमिफाइनलमा पुलिसले बागमतीकाे सामना गर्दा एपिएफ आर्मीविरुद्ध मैदान उत्रनेछ ।

छैटौं दिन तीन अर्धशतक र अनिलकाे उत्कृष्ट बलिङ

दिनको पहिलो खेलमा प्रदेश १ विरुद्ध मैदान उत्रिएको सुदूपश्चिमका ब्याटर तथा यु १९ क्रिकेट टोलीका पूर्वकप्तान राजु रिजालले अर्धशतक बनाए । कप्तान सन्तोष भट्टसँगै ओपनिङमा आएका रिजाल ६८ रन जाेडे । ५२ बल खेलेका रिजालले नौ चौका र दुई छक्का प्रहार गरे ।

त्रिविमा सम्पन्न दोस्रो खेलमा लुम्बिनी र गण्डकी दुवै प्रदेशका एक/एक ब्याटरले अर्धशतकीय इनिङ खेले ।

टस जितेर ब्याटिङमा आएको गण्डकीका अनिल गुरुङले ३९ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन बनाए । यद्यपि लुम्बिनीविरुद्ध उनको योगदान पर्याप्त रहेन । गण्डकी पाँच विकेटले पराजित भयो ।

गण्डकीविरुद्ध जवाफी ब्याटिङमा आएको लुम्बिनीका ओपनर देव खनालले ५६ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका देवले २६ बलमा १० चौका र एक छक्का प्रहार गरे ।

बलिङमा लुम्बिनीकै अनिल खरेलले चार विकेट लिए । अनिलले १९औं ओभरमा तीन विकेट लिएपछि गण्डकी एक सय चार रनमै समेटिएको थियो । चार ओभर बलिङ गरेका अनिलले ३.७५ इकोनमी रेटमा १५ रन खर्चिए ।