प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः आर्मीको दोस्रो जित

काठमाडौं । विक्रम सोबकाे ६ विकेटप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । आर्मीले शुक्रबार सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गर्यो ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले दिएको एक सय १६ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको जितमा हरि चौहानले सर्वाधिक ३३ रन बनाए । हरिले ३९ बलमा चार चौका प्रहार गरे । त्यस्तै विक्रम सोबले २९, भिम सार्कीले १३, साहब आलमले १२ र कुशल मल्लले ११ रन जोडे ।

सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए । यस्तै हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान एक विकेट हात पारे ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १५ रनको योगफल खडा गरेको थियाे।

सुदूरपश्चिमका खडक बोहराले सर्वाधिक ३७ रन बनाएका थिए । उनले ४२ बलमा एक छक्का र एक चौका प्रहार गरे । यस्तै बसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रनको योगदान गरेका थिए ।

आर्मीका विक्रमले ६ विकेट लिँदा कुशल मल्ल, शाहब आलम र हरी चौहानले समान एक विकेट हात पारे ।

जितसँगै चार खेलबाट पाँच अंक जोडेको आर्मी समूह ‘ए’ को दोस्रो स्थानमा छ । आर्मीले दुईमा जित, एकमा हार र एकमा बराबरीको नतिजा आत्मसाथ गरेको छ ।

तीन खेलमध्ये एकमा जित र दुईमा हारको नजितासहित दुई अंक जोडेको सुदूरपश्चिम भने तालिकाको तेस्रो स्थानमा छ ।