प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः पुलिसको सतप्रतिशत जित यात्रा कायम

काठमाडौं । कर्णाली प्रदेशमाथि शुक्रबार ८९ रनको फराकिलो जित निकाल्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सतप्रतिशत जित यात्रा कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको दुई सय ४५ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५५ रनमात्र जोड्न सक्यो ।

कर्णालीका प्रकास जैसीले अर्धसतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । दोस्रो इनिङको अन्तिम बलमा रनआउट हुनुअघि प्रकासले ४७ बलमा ६ चौका र तीन छक्कासहित ६८ रन जोडे ।

यस्तै कप्तान रविन्द्र साहीले १७ रन बनाउँदा मनिष थापा र दिनेश अधिकारीले टोलीको खातामा समान १५ रन थपे । कर्णालीका दिवान पुन १७ रनमा अविजित रहे ।

कर्णालीविरुद्ध नौ बलर खटाएको पुलिसका लागि योगेन्द्रसिंह कार्की र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । यस्तै कुशल भुर्तेल, पवन सर्राफ, गुल्सन झा र करन केसीको नाममा एक/एक विकेट रह्यो ।

यसअघि दुई ब्याटरले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ४४ रनको योगफल तयार गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसका लागि ओपनर कुशलले ३९ बलमा ९ चौका र ३ छक्कासहित ८२ रनको शानदार इनिङ खेलेका थिए ।

यस्तै, पुलिसका लागि वान् डाउनमा क्रिजमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले २८ बलमा ९ चौका र २ छक्कासहित ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

त्यसअघि अर्का ओपनर पवन सर्राफ २२ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै, आरिफ शेख १८ र दीलिप नाथ ३१ रनमा अविजित रहँदा कप्तान मन्जित श्रेष्ठले १९ रनको योगदान गरेका थिए क।

कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई/दुई विकेट लिए ।


जितसँगै तीन खेलबाट ६ अंक जोडेको पुलिस समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । चारमा खेलमध्ये एकमा जित र तीनमा हारको सामना गरेको कर्णाली भने दुई अंकसहित तालिकाको चौथो स्थानमा छ ।