प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः अनिलको घातक बलिङ, एपिएफको सतप्रतिशत जित यात्रा कायम

काठमाडौं । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो दिन बिहीबार लुम्बिनी प्रदेशका अनिल खरेलको घातक बलिङ हेर्न लायकको रह्यो । त्रिवि क्रिकेट मैदानमा प्रदेश २ विरुद्ध चार ओभर बलिङ गरेका अनिलले एक मेडन राख्दै मात्र १३ रन खर्चिए ।

यसबाहेक बिहीबार मुलपानी र त्रिवि क्रिकेट मैदानमा भएका तीन खेलमा एपिएफ क्लब, सुदूरपश्चिम र लुम्बिनी प्रदेशले जित निकाले । मुलपानी क्रिकेट मैदानमा हुने भनिएको दिनको पहिलो खेल भने चिसो आउटफिल्डका कारण सम्भव हुन सकेन ।

चिसो आउटफिटका कारण मुलपानीमा हुने तय भएका खेल प्रभावित

बुधबार राती भएको वर्षाका कारण मुलपानी क्रिकेट मैदानमा बिहीबार बिहान ९ बजेका लागि तय भएको त्रिभुवन आर्मी र प्रदेश १ बीचको खेल सुरु हुन सकेन् । मैदानको आउटफिल्ड चिसो रहेपछि आर्मी र प्रदेश १ ले टस समेत गर्न सकेनन् । यसैकारण दुवै टोलीले एक बल पनि नखेली अंक बाँडे ।

त्यस्तै दोस्रो खेलमा पनि चिसो आउटफिल्डका निर्धारित समयमा सुरु हुन सकेन । दिउँसो १ बजेका लागि तय भएको एपिएफ र गण्डकी प्रदेशबीचको खेल केही ढिलो गरि सुरु भएको थियो ।

एकमात्र अर्धशतक देब खनालको ब्याटबाट

लुम्बिनीको पहिलो जितमा अनिलको घातक बलिङबाहेक ब्याटिङ देब खनालले उत्कृष्ट प्रदर्शन गरे । प्रदेश २ विरुद्ध अर्धशतकीय इनिङ खेलेका देबले ३८ बलमा चार चौका र दुई छक्कासहित ५४ रन जोडे । प्रतियोगिताको चौथो दिन देबको ब्याटबाट अर्धशतक बन्न सक्यो ।

प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा लुम्बिनीले प्रदेश दुईमाथि ४२ रनको जित निकाल्यो । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको एक सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले निर्धारित २० ओभरमा एक सय १९ रनमात्र जोड्न सक्यो ।

एपिएफको रोमाञ्चक जित, सुदूरपश्चिमको पहिलो जित

मुलपानीमा भएको दोस्रो खेलमा एपिएफले गण्डकी प्रदेशमाथि दुई रनको रोमाञ्चक जित निकाल्यो । मुलपानी क्रिकेट मैदानमा एपिएफले दिएको ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ९० रनमात्र जोड्न सक्यो ।

एपिएफको जितमा कमलसिंह ऐरीको तीन र किशोर महतोले महत्वपूर्ण दुई विकेट लिए ।

यता, त्रिवि क्रिकेट मैदानमा सम्पन्न बिहानको ९ बजेको खेलमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पार्यो । पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्यो ।

त्रिवि क्रिकेट मैदानमा एक सय ५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनमात्र जोड्न सक्यो । सुदूरपश्चिमका शेर मल्लले चार विकेट लिए । चार ओभर बलिङ गरेका शेरले १५ रन खर्चिए ।

प्रतियोगितामा तीन विभागीयसहित सहभागी १० टोली दुई समूहमा बिभाजित छन् ।

बिहीबारसम्म सतप्रतिशत जित निकालेको एपिएफ ६ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । त्यस्तै समान दुई खेलमा एक जित र एक हारको नतिजा निकालेका बागमती र लुम्बिनी क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । तीन खेलमा एक जित दुई हारको नतिजा आत्मसाथ गरेको प्रदेश दुई तालिकाको चौथो स्थानमा रहँदा अंकविहिन गण्डकी पुछारमा छ ।

यस्तै, दुई खेलबाट चार अंक जोडेको नेपाल पुलिस क्लब समूह ‘ए’ को शीर्ष स्थानमा छ । त्यस्तै तीन खेलमध्ये एकमा जित, एकमा हार र एकमा नतिजा आत्मसाथ गरेको आर्मी दोस्रो स्थानमा छ । दुई खेलमध्ये एकमा विजयी र एकमा पराजित भएको सुदूरपश्चिम तेस्रो, तीन खेलमा एकमा विजयी र दुई खेलमा पराजित भएको कर्णाली चौथो स्थानमा छ । दुई खेलबाट एक बराबरीको नतिजा आत्मसाथ गरेको प्रदेश १ तालिकाको पुछारमा छ ।