प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः एपिएफलाई १२६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार बागमती प्रदेशले एपिएफ क्लबसामु एक सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङका लागि आएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रनको योगफल खडा गर्यो ।

बागमतीका इशान पाण्डेले सर्वाधिक २९ रन बनाए । इशानले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरे । त्यस्तै नन्दन यादवले २४, सुवास खकुरेलले २१ र आदिल खानले १९ रन जोडे ।

एपिएफका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमलसिंह ऐरीले दुई विकेट लिँदा किशोर महतो र सरद भेषवाकरको नाममा समान एक विकेट रह्यो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ र एपिएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो ।