प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः कर्णाली प्रदेशको पहिलो जित

काठमाडौं । अनुज चुनाराको चार विकेटप्रेरित कर्णाली प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन विभागीय टोली आर्मीसँग ६३ रनले पराजित भएको कर्णालीले मंगलबार प्रदेश १ लाई ३१ रनले पराजित गर्यो ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २० रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा एक सय १८ रनको लक्ष्य पछ्याएको प्रदेश १७. ५ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्रै बनाउन सक्यो ।

प्रदेश १ लाई सस्तैमा समेट्न अनुजले ३.५ ओभरमा १६ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यस्तै, दिवान पुनले २ विकेट लिएका थिए ।

प्रदेश १ का लागि फिर्दोस अनसारीले सर्वाधिक २३ रन जोड्दा दिपेश कँडेल र सार्वन यादवले १५÷१५ रन जोडे । कप्तान सिद्धान्त लोहनी १४ रनमा पेभेलियन फर्किँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसअघि पहिलो इनिङमा कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ रन बनाएका थिए । ४१ बलको सामना गरेका रविन्द्रले चार चौका प्रहार गरेका थिए । त्यस्तै प्रकाश जैशीले २५ तथा राज शाहले १५ रन जोडेका थिए ।

प्रदेश १ का मुकुन्द यादवले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक तीन तथा फिर्दोस अनसारीले ३ ओभरमा २२ रन खर्चेर दुई विकेट लिएका थिए ।