प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: शेख दाजुभाईकाे दिन

काठमाडौं । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष क्रिकेट प्रतियोगिताकाे पहिलाे दिन नेपाली क्रिकेट टोलीका सदस्यसमेत रहेका आरिफ शेख र आसिफ शेख दाजुभाईलाई विशेष रह्यो ।

प्रतियोगितामा दुई विभागीय टोलीको प्रतिनिधित्व गरिरहेका दुबै दाजुभाई सोमबार ‘म्यान अफ दि म्याच’ चुनिए ।

नेपाल पुलिस क्लबका आरिफ प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा र एपिएफका आसिफ प्रदेश २ विरुद्धको खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका हुन् ।

आरिफले सुदुरपश्चिमविरुद्ध उत्कृष्ट बलिङ चार ओभरमा मात्र नौ रन खर्चेर चार विकेट लिए । आरिफकै प्रदर्शनप्रेरित पुलिसले सुदूरपश्चिममाथि दुई रनको रोमाञ्चक जित निकालेको थियो ।

यस्तै प्रदेश २ विरुद्ध उत्कृष्ट ब्याटिङ गरेका आसिफले ६३ रनको अर्धशतकिय इनिङ खेले । आसिफले ४५ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । एपिएफले प्रदेशलाई २ लाई २४ रनले पराजित गरेको थियो ।