प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः आज चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार चार खेलहरु हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा एकै समयमा दुई खेल हुनेछन् ।

पहिलो दुई खेलमा त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दा मुलपानी क्रिकेट मैदानमा प्रदेश १ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ः१५ बजेबाट सुरु हुनेछ ।

दिउसो १ः१५ बजे त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्ध एपिएफ क्लब मैदान उत्रिँदा मुलपानीमा प्रदेश २ र गण्डकी प्रदेश भिड्नेछन् ।

प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमलाई दुई रनले, आर्मीले कर्णालीलाई ६३ रनको जित निकाल्दा एपिएफले प्रदेश २ लाई २४ र बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित पराजित गरेको थियो । प्रदेश १ र गण्डकी प्रदेशको भने मंगलबार पहिलो खेल खेल्न लागेका हुन् ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशसहित सहभागी १० टोली दुई समूहमा विभाजित छन् । समूह ‘ए’ मा आर्मी, पुलिस, सुदूरपश्चिम, कर्णाली र प्रदेश १ छन् । समूह ‘बी’ मा एपिएफ, बागमती, प्रदेश २, लुम्बिनी र गण्डकी प्रदेश छन् ।

पहिलो चरणमा समूहको शीर्ष दुई स्थानमा रहने टोलीले सेमिफाइनलको टिकट काट्नेछन् ।