प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपको पहिलो दिन: १० खेलाडी एक टिम र शेख दाजुभाईको दिन

काठमाडौं । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् ।

सोमबारको खेलमा तीन विभागीय त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लबसहित बागमती प्रदेशले जित निकाल्दै प्रतियोगिताको यात्रा सुखद् बनाए । 

प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी सहभागी १० टोली दुई समूहमा विभाजित छन् । पहिलो चरणबाट दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनमा स्थान बनाउने छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा चल्ने प्रतियोगिताको फाइनल माघ पाँच गते हुनेछ ।

प्रतियोगिताको पहिलो दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा समान दुई खेल सम्पन्न भए । त्रिविमा सम्पन्न पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ६३ रनको जित निकाल्दा मुलपानीमा नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित दर्ता गर्यो ।

आर्मीले दिएको एक सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १४.४ ओभरमा ५३ रनमै समेटियो । आर्मी जितमा कप्तान विनोद भण्डारीले सर्वाधिक २९ रन जोडे । बलिङमा आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिए ।

मुलपानीमा सुदुरपश्चिम प्रदेशमाथि दुई रनको झिनो जित निकालेको पुलिसका लागि कुशल मल्लले सर्वाधिक २१ रन जोड्दा आरिफ शेखले चार विकेट लिए ।

त्रिविमा सम्पन्न दोस्रो खेलमा अर्को विभागीय टोली एपिएफले प्रदेश २ लाई २४ रनले पराजित गर्यो । यता, मुलपानीमा राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रिएको बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित दर्ता गर्यो ।

एपिएफका ओपनरद्वय आसिफ शेख र प्रदीप ऐरीले पहिलो विकेटका लागि एक सय २० रनको साझेदारी गरेका थिए । पभेलियन फर्किनुअघि आसिफले ६३ र प्रदीपले ६० रन जोडे ।

पहिलो दिनमै क्यानको लापरवाही

प्रतियोगिताको पहिलो दिनको त्रिविमा सम्पन्न पहिलो खेलमा निकै अचम्मको दृष्य देखियो । क्यानको लापरवाहीका कारण कर्णाली प्रदेशसँगको खेलमा आर्मी मात्र १० खेलाडी लिएर मैदान उत्रियो ।

टसका दौरान ११ खेलाडीको नाम बुझाएको आर्मीका सोनु तामाङ खेल्न नपाउने भएपछि १० खेलाडीले ब्याटिङ र फिल्डिङ गरे ।

वास्तवमा बागमती प्रदेशबाट आर्मीमा आवद्ध भएका सोनु तामाङलाई आर्मीले सुरुआती ११ मा राखेको थियो । तर, काठमाडौं जिल्लाबाट खेलेको ६ महिना नभएकाले उनलाई खेलाउन रिलिज लेटर आवश्यक हुने थियो । बागमतीले रिलिज नदिएका खेलाडीलाई आर्मीले खेलाउन खोजेको थियो । 

यस सन्दर्भमा राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका क्यानका क्रिकेट म्यानेजर विनोद दासले आर्मीले रिलिज लेटर नभएका खेलाडी मैदान उतारेकाले म्याच रेफ्रीले खेल्न नदिएको प्रतिकृया दिए ।

आर्मीका कप्तान विनोद भण्डारीले पनि क्यान र टोली दुवैतर्फको गल्ति रहेको स्वीकारे ।

फर्म्याटमा परिवर्तन

प्रतियोगिता यसअघि एकदिवसीय फर्म्याटमा हुने गरेता पनि आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको फर्म्याट परिवर्तन गर्ने निर्णय गरेको हो । विश्वकपको ग्लोबल छनोट अर्को महिनादेखि ओमानमा हुदैँछ ।

ग्लोबल क्वालिफायर्सका लागि राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका थिए । तर, क्यानले अहिले भने प्रधानमन्त्री कपकै लागि भनेर खेलाडीलाई छोडेको छ ।

पिएम कप: शेख दाजुभाईको दिन

प्रतियोगिताको पहिलो दिन नेपाली क्रिकेट टोलीका सदस्यसमेत रहेका आरिफ शेख र आसिफ शेख दाजुभाईलाई विशेष रह्यो ।

प्रतियोगितामा दुई विभागीय टोलीको प्रतिनिधित्व गरिरहेका दुबै दाजुभाई सोमबार ‘म्यान अफ दि म्याच’ चुनिए ।