काठमाडौं । बलिङ आक्रमणको धार हुत्तिए पनि ब्याटरहरुले प्रशंसनीय खेल प्रर्दशन गर्दा नेपाल प्रिमियर लिग (एनपिएल)मा साबिक विजेता जनकपुर बोल्ट्स चितवन राईनोजमाथि प्रभावशाली जितको हकदार बनेको छ ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अनुशासनहीन फिल्डिङ गर्दा जनकपुरले २० ओभरमा १७६ रन खर्चिएको थियो । तर, ओपनर माज सदाकत र तेस्रो नम्बरका ब्याटर अनिल शाह दुबैले अर्धशतकीय पारी खेल्दा जनकपुरले १७७ रनको लक्ष्य १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
पछिल्ला चार खेलमा जनकपुरले विपक्षीलाई नतिजा सुम्पिनुको प्रमुख कारणमध्ये एक थियो, कम रनको साझेदारी । मंगलबार अवस्था फरक थियो । अनिल र सदाकतले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । त्यस्तै पावरप्लेमा आक्रमक ब्याटिङ गर्नु जनकपुरको पहिलो जितको अर्को कारण रह्यो ।

पछिल्ला खेलहरुमा सस्तै आउट भइरहेका सदाकतले ३० बलमा ६ चौका र चार छक्कासहित ६३ रनको पारी खेले । त्यस्तै अनिलले ३६ बलमा चार चौका र तीन छक्कासहित ६१ रन बनाए । यसैगरी आसिफ शेख र आदित्य महताले समान १८ रनको योगदान गरे । यान निकोल लफ्टी इटनले ११ रन बनाउँदै पवेलियन फर्किएका थिए ।
चितवनका लागि सोहेल तनवीर, कमलसिंह ऐरि र अमर रौटेलाले समान एक विकेट लिए ।
जनकपुरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा एक विकेट गुमाउँदै ५९ रन जोडेको थियो । आसिफलाई अन्तिम ओभरमा कमलले बोल्ड गरेका थिए ।
१२औं ओभरको पहिलो बलमा कप्तान कुशल मल्लले सदाकतलाई रौटेलाबाट क्याच गराउँदै चितवनलाई ‘ब्रेक थ्रु’ दिलाए । तर, त्यतिबेलासम्म ढिला भइसकेको थियो । स्कोरबोर्डमा १५६ रन हुँदा इटन सेफ जैब र तनवीरको ‘कम्बिनेसन’मा रनआउटको शिकार बने । एक रन जोड्न नपाउँदै अनिललाई तनवीरले कुशलबाट क्याच गराए । १८औं ओभरको तेस्रो बलमा महताले चौका प्रहार गर्दै जनकपुरलाई जित दिलाए ।

त्यसअघि इङ्लिस ओपनर डेविड मलानको ब्याटबाट रन निस्किँदा जनकपुरले १७७ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । टस जितेर ब्याटिङ निर्णय गरेका कप्तान कुशल मल्लको ब्याटबाट पनि अन्तिम ओभरहरुमा रनको वर्षा भयो । फलस्वरुप २० ओभरको समाप्तिमा चितवनले चार विकेट गुमाउँदै १७४ रनको योगफल खडा गर्यो ।
५४ बलमा चार चौका र पाँच छक्कासहित ८० रनको पारी खेलेका मलानलाई उनका ओपनिङ जोडी अर्जुन साउदले गतिलो साथ दिए । साउदले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रन बनाए । १४ बलको सामना गरेका कुशलले ३० रनको योगदान गरे ।
पछिल्ला चार खेलमा सस्तैमा पवेलियन फर्किएका मलानले दुईपटक जीवनदान पाए । जसको फाइदा मलानले मज्जाले उठाए । जनकपुरले नवौं र १४औं ओभरमा मलानको क्याच ड्रप गरेको थियो ।
पहिलो विकेटका लागि अर्जुन र मलानले ११२ रनको साझेदारी गरे । एनपिएल इतिहासमा यो आठौं सर्वाधिक साझेदारी हो । १४औं ओभरमा यान निकोल लोफ्टी इटनले अर्जुनको विकेट लिँदै जनकपुरलाई ब्रेक थ्रु दिलाए । उनी संजय कृष्णमूर्तीबाट क्याच भए । त्यसअघिको बलमा अर्जुनले पनि जीवनदान पाएका थिए । एनपिएलमा मलानसँगै अर्जुनको पनि यो पहिलो अर्धशतक हो ।

स्कोरबोर्डमा १२८ रन हुँदा चितवनले सेफ जैबलाई गुमायो । अनिल शाहको बलमा जैब पनि कृष्णमूर्तीबाटै क्याच भए । जैबले सात रन जोडे । त्यसपछि एनपिएल सिजन २ मा सर्वाधिक रनकर्ताको दौडमा शीर्ष स्थानमा रहेका रवी भोपारा तीन रन बनाउन नपाउँदै पवेलियन फर्र्किए । रुपेश सिंहको बलमा भोपारा माज सदाकतबाट क्याच भए । १५६ रन हुँदा सदाकतले मलानलाई एलबिडब्लुको शिकार बनाए ।
कुशल र छैटौं नम्बरका ब्याटर अमर रौटेलाले पाँचौं विकेटका लागि २० रनको साझेदारी गरे ।
हारसँगै पाँच खेलमा चार अंक जोडेको चितवनको प्लेअफ सम्भावनामा धक्का पुगेको छ । अब चितवनले बाँकीका दुई खेल जित्नु त पर्यो नै अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।
