काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार अंकतालिकाको पुछारमा रहेका टोलीहरु मैदानमा उत्रिदैछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चार अंकसहित चौथो स्थानको चितवन राईनोजलाई पुछारमा रहेको जनकपुरको चुनौती हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तीन अंकका लागि रस्सा–कस्सी चल्नेछ । यो खेल दिउँसो ४ बजे हुनेछ ।
चितवनलाई जनकपुरसँग जितबाहेक विकल्प छैन । हार बेहोर्ने हो भने चितवनको प्लेअफ समीकरण कठिन मोडमा पुग्नेछ । किनभने तीन खेल खेल्न बाँकी रहँदा चितवनले मात्र ४ अंक जोडेको छ । अनि तीन टोलीले कम्तिमा ८ अंक जोडिसकेका छन् ।
उता चितवनविरुद्ध हार बेहोरे जनकपुर प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बन्नेछ । चितवनलाई हराए जनकपुरसँग झिनो आशा अझै बाकी रहनेछ । चार खेल खेल्दा जनकपुरले अंकको खाता खोल्न सकेको छैन ।

पाँच खेलमा कर्णालीले मात्र दुई अंक जोडेको छ । पोखरासँग हार्ने हो भने कर्णाली प्लेअफ समीकरणबाट बाहिरिनेछ । उता पोखराको हालत पनि उस्तै छ । चार खेलमा पोखराले दुई अंक जोडेको छ । दुबैलाई हार स्विकार्य छैन ।
कर्णालीविरुद्ध पोखरालाई न्युजिल्यान्डका ब्याटर जिमी निसमको अनुपस्थिति खड्किनेछ । शनिबार चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध निसमले अर्धशतक प्रहार गरेका थिए । निसमको यो यस सिजन अन्तिम खेल थियो । तर, पोखरासँग अर्को ‘बिग नेम’को उर्जा रहनेछ । सोमबार बिहान मात्र इङ्लिस ब्याटर जेसन रोयन टोलीसँग जोडिएका थिए ।
