प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: कर्णालीविरुद्ध ११६ रनमा आर्मी अलआउट

काठमाडौं । प्रकाश जैसीको तीन विकेटप्रेरित कर्णाली प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई एक सय १६ रनमा अलआउट गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमायो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले १७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २९ रन जोडे । यस्तै हरि चौहानले २० तथा रोहित पौडेल र कुशल मल्लले १० बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कर्णालीका लागि प्रकाशले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक तीन तथा अनुज चुनाराले दुई विकेट लिए ।

आजदेखि सुरु भएको पिएम कप यसपालीदेखि ट्वान्टी २० पद्दतिमा हुँदैछ । मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा सात प्रदेश र तीन विभाग गरी १० टोलीको सहभागिता छ ।