एसेस टेस्ट शृंखला

एसेस शृंखला: पाँचौ टेस्टबाट बाहिरिए बटलर

क्यानबेरा । इङ्ल्यान्डका ब्याटर जस बटलर अस्ट्रेलियाविरुद्धको एसेस शृंखलाको पाँचौ तथा अन्तिम टेस्टबाट बाहिरिएका छन् ।

शृंखलाअन्तर्गतको चौथो टेस्टका दौरान हातमा चोट लागेपछि इङ्लिस टोली विकेटकिपर ब्याटर बटलर घर फर्किन लागेका हुन् । बटलरको स्थानमा इङ्ल्यान्डले स्याम बिलिङ्ग्सलाई टोलीमा समावेश गरेको छ । इङ्लिस टोलीबाट २५ एकदिवसीय र ३३ ट्वान्टी २० क्रिकेट खेलेका बिलिङ्सले टेस्टमा पनि ‘डेब्यु’ गर्न लागेका हुन् ।

दुई टोलीबीचको चौथो टेस्ट बराबरीमा टुङ्गिएपछि इङ्लिस टोलीका कप्तान जो रुटले पाँचौ टेस्टअघि नै बटलर घर फर्किन लागेको बताए ।

‘बटलर घर जादैछन् । उनलाई निकै खराब चोट लागेको छ । होबर्टमा उनी टोलीसँग नहुनु निकै निराशजनक छ,’ रुटले भने ।

चोटका बावजुद बटलरले चौथो टेस्टको दोस्रो इनिङमा ४५ मिनेट क्रिजमा बिताएका थिए । यस दौरान उनले ३८ बलमा ११ रन जोडे । बटलर यसअघि पहिलो इनिङमा शुन्य रनमै पभेलियन फर्किएका थिए ।