काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा टाइगर्स टिममाथि ५-० को रवाफिलो जित हासिल गर्दै नव जन जागृति युवा क्लब समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार प्रतियोगिताको आठौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न खेलमा नव जन जागृतिलाई जित दिलाउन प्रतापसिंह राईले दुई तथा विजय उरान, सुजन डंगोल र पुजन थापाले समान एक गोल गरे ।
आफ्नो अपराजित यात्रालाई कायम राखेको नव जन जागृतिले यो जितसँगै तीन खेलमा सात अंक जोडेको छ । नव जन जागृतिले यसअघि शीर्ष स्थानमा रहेको काँक्रे बिहार युथ क्लबलाई गोल भिन्नताका आधारमा उछिन्यो ।
यसअघि काँक्रे बिहारसँग १-१ को बराबरी खेलेको नव जन जागृतिले आफ्नो दोस्रो खेलमा गाईघाट फुटबल क्लबलाई २-० ले हराएको थियो ।
यो नतिजासँगै टाइगर्स सेमिफाइनल समीकरणबाट बाहिरिएको छ । चार खेलमा टाइगर्सले मात्र तीन अंक जोड्न सक्यो ।
दिनको दोस्रो खेलमा गाईघाट र हैरान्स क्लब एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । दुई खेलमा तीन अंक जोडेको हैरान्सलाई जितको विकल्प छैन ।
