काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिलएल) को दोस्रो सिजनका लागि पनि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिललाई निरन्तरता दिएको छ ।
विराटनगरले आइतबार विज्ञप्ति जारी गर्दै गप्टिललाईनिरन्तरता दिएको जनाएको हो । गप्टिलले पहिलो सिजनमा ६ खेल खेल्दा एक अर्धशतकसहित १३७ रन प्रहार गरेका थिए ।
गप्टिल विराटनगरले भित्र्याएको चौथो विदेशी खेलाडी हुन् । यसअघि टोलीले दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस, अस्ट्रेलियाका साम हिजलेट र स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको थियो ।
उनीसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज लिगको धेरै अनुभव छ । गप्टिलले न्युजिल्यान्डका टोलीका लागि १२२ टी-ट्वान्टी खेल खेल्दा ३ हजार ५३१ रन बनाएका छन् ।
उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन् । यस्तै उनीसँग बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलेको अनुभव छ ।
विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अनुबन्ध गरेको थियो । ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि विराटनगरसहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिक रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
