काठमाडौं । दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।
गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान चार विकेटले विजयी भयो ।
जितसँगै पाकिस्तानले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पारेको छ । यसअघि दक्षिण अफ्रिका ५५ रन र पाकिस्तान ९ विकेटले विजयी भएका थिए ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानका लागि बाबर आजमले ४७ बलमा ९ चौककोे मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी कप्तान सलमान अघाले ३३ र शाहिबजादा फरहानले १९ रन बनाए ।
तेस्रो विकेटका लागि बाबर र सलमानबीच ७६ रनको साझेदारी भएको थियो । दक्षिण अफ्रिकका लागि लिजार्ड विलियम र कोर्बिन बोशले समान दुई तथा एन्डिले सिमलेन र कप्तान डोनोभान फरेराले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदैे १३९ रनको योगफल तयार पारेको थियो ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ३४, कोर्बिन बोशले अविजित ३०, डोनोभान फरेराले २९, डिवाल्ड ब्रेभिसले २१ र एन्डिले सिमलेनले १३ रन बनाए ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले तीन, फहिम अशरफ र उस्मान तारिकले समान दुई तथा सलमान मिर्जा र मोहम्मद नवाजले समान एक विकेट लिए ।
