टेस्ट

दक्षिण अफ्रिका जित नजिक

जोहानेसबर्ग । दक्षिण अफ्रिका भारतविरुद्धको दोस्रो टेस्टमा जितको संघारमा पुगेको छ ।

भारत दोस्रो इनिङमा दुई सय ६६ रनमा सीमित भएपछि जितका लागि दक्षिण अफ्रिकाले दुई सय ४० रनको लक्ष्य पाएको थियो ।

तेस्रो दिनको खेल समाप्तीमा दक्षिण अफ्रिका ११८-२ को स्थितीमा खेलिरहेको छ । दक्षिण अफ्रिका जितबाट मात्र एक सय २२ रन टाढा छ । 

दक्षिण अफ्रिकाका कप्तान तथा ओपनर डिन एल्गर अविजित ४६ रनमा खेलिरहेका छन् भने  रेसी भान डेर डुसेन अविजित ११ रनमा खेलिरहेका छन्  । 

भारतका श्रदुल ठाकुर र रविचन्द्रन अश्विनले समान एक विकेट लिए । 

यसअघि ८५-२ बाट तेस्रो दिनको खेल सुरु गरेको भारतले थप एक सय ८१ रन जोड्दा बाँकी आठ विकेट गुमाउँदै दुई सय ६६ रनमा सीमित भएको थियो ।

दोस्रो दिनको समाप्तीमा चेतेश्वर पुजारा अविजित ३८ र अजिंके रहाने अविजित ११ रनमा खेलिरहेका थिए । पुजारा र रहानेले अर्धशतक पूरा गरेपछि भारत बलियो योगफलतर्फ अघि बढेको थियो ।

पुजाराले ८६ बलमा १० चौका मद्दतमा ५३ रन जोड्दा रहानेले ७८ बलमा आठ चौका र एक छक्का मद्दतमा ५८ रनको योगफल तयार पारे ।

पुजारा र रहानेले तेस्रो विकेटका लागि एक सय ११ को साझेदारी गरेका थिए । पुराजा र रहाने पवेलियन फर्किएपछि भने भारतका अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । 

पुजारा र रहानेलाई कागिसो रबाडाले पवेलियनको बाटो देखाएका थिए ।  त्यस्तै हनुमा बिहारीले अविजित ४० र श्रदुल ठाकुरले २८ रन जोडे । 

भारतले पहिलो इनिङमा दुई सय दुई रन बनाएको थियो भने दक्षिण अफ्रिकाले दुई सय २९ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पहिलो इनिङमा २७ रनको अग्रता लिएको थियो ।

तीन टेस्टको शृंखलामा भारत १-० ले अघि छ ।