न्युजिल्यान्ड बंगलादेश टेस्ट

न्युजिल्यान्डविरुद्धको जितसँगै बंगलादेशले बनाएका चार कीर्तिमान

वेलिङटन । बुधबार न्युजिल्यान्डविरुद्ध उसैको मैदानमा आठ विकेटको जित निकालेको बंगलादेशले दुई टेस्टको शृंखलामा १-० को अग्रता बनाएको छ । माउन्ट मौनगानुइमा न्युजिल्यान्डमाथि बंगलादेशले हात पारेको एक ऐतिहासिक जित थियो ।

न्युजिल्यान्डविरुद्ध पहिलो जित

यो बंगलादेशले न्युजिल्यान्डविरुद्ध टेस्ट क्रिकेटमा हात पारेको पहिलो जित हो । यसअघि यी दुई टोलीबीच भएका १५ मध्ये १२ खेल न्युजिल्यान्ड आफ्नो पक्षमा पार्दा तीन टेस्ट बराबरीमा सकिएको थियो ।

यस्तै बंगलादेशले क्रिकेटको तीनै संरचनामा न्युजिल्यान्डविरुद्ध उसैको घरमा हात पारेको यो पहिलो जित थियो । त्यसअघि बंगलादेशले न्युजिल्यान्ड भ्रमण ३२ खेलमा हार बेहोरेको थियो ।

शीर्ष टेस्ट वरियतामाथि हात पारेको पहिलो जित

न्युजिल्यान्डविरुद्धको जित बंगलादेशले घरेलु मैदान बाहिर हात पारेको छैटौं जित थियो । यसअघि बंगलादेशले वेस्ट इन्डिज र न्युजिल्यान्डलाई दुई पटक र श्रीलंकामाथि एक पटक उसैको मैदानमा हराएको थियो । बंगलादेशले पहिलो पटक आइसिसी टेस्टको शीर्ष वरियता टोलीलाई हराएको हो ।

पछिल्लो एक दशकमा न्युजिल्यान्डविरुद्ध उसैको मैदानमा जित निकाल्ने पहिलो टोली 

न्युजिल्यान्डविरुद्ध पछिल्लो पटक उसैको मैदानमा सन् २०११ मा पाकिस्तानले १० विकेटले हराएको थियो । यसपछि पछिल्लो एक दशकपछि न्युजिल्यान्डविरुद्ध उसैको मैदानमा जित निकाल्ने टोली बन्यो ।

न्युजिल्यान्डको १७ टेस्टसम्मको अपराजित यात्रा समाप्त 

जितसँगै बंगलादेशले न्युजिल्यान्डको घरेलु मैदानमा १७ टेस्टसम्मको अपराजित यात्रामा पूर्णविराम लगाइदियो । न्युजिल्यान्ड पछिल्लो पटक सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा पराजित भएको थियो ।

घरेलु मैदानमा लगातार आठ टेस्ट शृंखला

दुई टेस्टको शृंखलामा बंगलादेशले १–० को अग्रता बनाएसँगै न्युजिल्यान्ड कम्तिमा बराबरीमा रोकिने पक्का भएको छ । यससँगै घरेलु मैदानमा आयोजित पछिल्लो आठ टेस्ट शृंखलामा लगातार जित निकालेको न्युजिल्यान्डको कीर्तिमान समाप्त भएको छ । यस कीर्तिमानको पहिलो स्थानमा भारत छ । भारतले सन् २०१३ यता घरेलु भूमीमा भएका १४ शृंखला गुमाएको छैन् । दोस्रो अस्ट्रेलिया (१०) र तेस्रो न्युजिल्यान्ड (८) छन् ।