एसेस टेस्ट शृंखला

अस्ट्रेलियाको सामान्य सुरुआत

सिड्नी । अस्ट्रेलियाले एसेस टेस्ट शृंखलाअन्तर्गत बुधबारबाट सुरु चौथो टेस्टको पहिलो दिन सामान्य सुरुआत गरेको छ ।

वर्षाले प्रभावित पहिलो दिनको खेल सकिँदा अस्ट्रेलिया १२६-३ को अवस्थामा खेलिरहेको छ । स्टिभ स्मिथ अविजित ६ र उस्मान ख्वाजा अविजित  ४ रनमा खेलिरहेका छन् ।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ५१ रन जोड्दा ओपनर डेविड वार्नरलाई पहिलो विकेटको रुपमा गुमायो । वार्नरले स्टुवार्ट ब्रोडको बलमा जेक क्रलेबाट क्याच हुनुअघि ७२ बलमा ६ चौका मद्दतमा ३० रन जोडे । 

सन् २०१९ को एसेस शृंखलाको १० इनिङ मध्य सात इनिङमा ब्रोडको सिकार भएका वार्नर यस पटक पनि उनकै बलमा पबेलियन फर्किन बाध्य भए ।

अस्ट्रेलियाले एक सय ११ को स्कोरमा रहँदा मार्कुस ह्यारिसलाई गुमायो । ह्यारिसले जेम्स एन्डरसनको बलमा कप्तान जो रुटबाट क्याच हुनुअघि एक सय नौ बलमा चार चौका मद्दतमा ३८ रन बनाए  ।

त्यस्तै मार्नोस लाबुसेनले ५९ बलमा चार चौका मद्दतमा २८ रन बनाए । लाबुसेनलाई मार्क उडले जस बट्लरबाट क्याच गराएका थिए ।

अस्ट्रेलियाले सुरुआती तीन खेल जित्दै पाँच खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारिसकेको छ ।