ज्ञानेन्द्र मल्ल

म सधैँ कप्तान हुनुपर्छ भन्ने छैन: ज्ञानेन्द्र मल्ल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भएपछि ज्ञानेन्द्र मल्लले आफू सँधै कप्तान हुनुपर्छ भन्ने मान्यता नभएको प्रतिक्रिया दिएका छन् ।

मिडियालाई दिएको अभिव्यक्तिका कारण अनुशासन कारबाहीमा परेका निवर्तमान कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पनि नेपाल क्रिकेट संघ (क्यान) ले जिम्मेवारी मुक्त गरेको थियो ।

‘म सँधै भरीलाई कप्तान हुन आएको पनि हैन र हुनुपर्छ भन्ने पनि छैन । म पहिला पनि खेलिरहेको थिए भने अहिले पनि खेल्छु,’ ज्ञानेन्द्रले भने ।

यसअघि २९ मंसिरमा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै तत्कालिन कप्तान र उपकप्तानसँगै थप दुई खेलाडी कमल सिंह ऐरी र सोमपाल कामीलाई सन् २०२२ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो ।

त्यसपछि खेलाडीले बन्द प्रशिक्षणमा सहभागी नहुने बताएका थिए ।

ज्ञानेन्द्र लगायत खेलाडीले आफ्नो कारबाहीसहित कप्तानी समेत फिर्ता हुनुपर्ने माग राखेका थिए । क्यानले केन्द्रीय सम्झौता हेरफेर गर्ने र कारबाही समेत फुकुवा हुने तर कप्तानी फिर्ता नहुने बताएपछि समस्याको समाधान भएको थियो ।

विवाद समाधान भएसँगै चारै खेलाडी मंगलबारबाट प्रशिक्षणमा आएका छन् । कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलियामा रहेको र सागर ढकाल बिरामी हुँदा प्रशिक्षणमा सामेल छैनन् । बिहानी अभ्यास सत्रमा प्रारम्भिक छनोटका ३० मध्य २८ खेलाडी सामेल भएका थिए ।

प्रशिक्षणमा आएका ज्ञानेन्द्रले यो विवाद नभएको, खेलाडीले आफ्नो असन्तुष्टि जनाएको र यो विषय बाहिर आउनु नहुने बताए ।

‘विवाद समाप्त भएर हामी यहीँ छौं । विवाद समाधानभन्दा पनि एउटा असन्तुष्टि हो । विवाद बनाइएको जस्तो भयो । मलाई जहाँसम्म लाग्छ विवाद नभएर खेलाडीहरू एउटा दुइटा कुरामा असन्तुष्ट थियौं,’ मल्लले भने ।

ज्ञानेन्द्रले आफूहरूले बोर्डको विपक्ष र बोर्डलाई निचो गराउने काम कहिले पनि नगरेको बताए ।

‘कहिले पनि बोर्डको विपक्षमा जाने, बोर्डलाई निचो गराउने, कहिले पनि गरेको हैन । त्यो गर्ने भए हामी अरुपनि बाटो अपनाउथेउ होला, जान्थ्यौं होला । खेल्दैन थियौं होला । तर यत्रो वर्ष केही नहुँदा पनि खेलिरहेको छौं, भने अहिले एउटा सम्मानजनक स्थिति छ । सम्बोधन हुनुपर्यो भन्दा अरु-अरु आरोप लगाउँदा दुख लाग्यो । यो आत्मसम्मान कुराले मलाई अप्ठेरो परेको थियो ।’

यस्तै मल्लले आफू पहिलो पनि खेलिरहेको र अहिले पनि खेल्ने साथै देशको लागि खेल्ने उद्देश्य रहेको बताए ।

दोस्रो पटक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ओमानमा आयोजना हुने आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ ।