बिग बास लिग

सन्दीप सम्मिलित हुरिकेन्स पराजित

मेलबर्न । नेपाली कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बिग बास लिगमा ब्रिस्बेन हिटसँग १४ रनले पराजित भएको छ ।

बेलेरिभ ओभलमा एक सय ५१ रनको लक्ष्य पछ्याएको हुरिकेन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३६ रनमात्र जोड्न सक्यो ।

हुरिकेन्सका टम रोजर्सले ३३ रन बनाए । त्यस्तै डिएरसी सर्टले २७, ह्यारी ब्रुकले २२ र पिटर ह्यान्ड्सकम्बले १४ रन जोडे ।

हिटका जेभियर बर्टेलेटले सर्वाधिक चार विकेट लिए । यस्तै मुजिव उर रहमानले तीन र मार्क स्टेकेटीले एक विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको हिटले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५० रनको योगफल तयार गरेको थियो ।

बिटका जेम्ब बाज्लीले सर्वाधिक ४४ रन बनाए । त्यस्तै ज्याक विल्डरमुथले २८, साम हेजलेटले २६ र क्रिस लिनले १३ रन जोडे ।

हुरिकेन्सका नाथन एल्सले तीन र टम रोजर्सले दुई विकेट लिए । यस्तै नेपाली कप्तान सन्दीप लामिछाने, रिले मेरेडिथ र जोर्डन थम्पसनले समान एक विकेट लिए ।

चार ओभर बलिङ गरेका सन्दिपले ३७ रन खर्चिए ।