भारत र दक्षिण अफ्रिका शृंखला

दक्षिण अफ्रिकामाथि भारतको कीर्तिमानी जित

सेन्चुरियन । भारतीय टोलीले सेन्चुरियन टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध एक सय १३ रनको कीर्तिमानी जित निकालेको छ ।

भारतीय टोलीले दक्षिण अफ्रिकी भूमी सेन्चुरियनमा पहिलो पटक घरेलु टोलीविरुद्ध जित निकालेको हो । त्यस्तै भारतीय टोली सेन्चुरियनमा जित निकाल्ने पहिलो टोलीसमेत बनेको छ ।

टेस्टको चौथो दिन भारतले घरेलु टोलीसामू जितको लागि तीन सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर घरेलु टोली एक सय ९१ रनमै सीमित भयो ।

भारतका जसप्रित बुमराह र मोहम्मद सामीले तीन/तीन तथा मोहम्मद सिराज र रविचन्द्रन आश्विनले दुई/दुई विकेट लिएपछि दक्षिण अफ्रिकाका ब्याटरहरु सस्तैमा समेटिए ।

दक्षिण अफ्रिकाका कप्तान डिन एल्गरले दोस्रो इनिङमा सर्वाधिक ७७ रन बनाए । यस्तै टेम्बा बभुमाले ३५, क्विन्टन डी ककले २१ र किगन पिटरसनले १७ रन जोडे ।

जितसँगै तीन खेलको टेस्ट शृंखलामा भारतले १-० काे अग्रता लिएको छ ।