काठामडौं । घरेलु टोली इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्विप’ गरेको छ ।
मंगलबार साउथह्याम्पटन स्थित द रोस बोउलमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा इङ्ल्यान्ड ३७ रनले विजयी भयो ।
जितसँगै इङ्ल्यान्डले शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो । यसअघि इङ्ल्यान्डले २१ रन र चार विकेटको जित निकालेको थियो ।
इङ्ल्यान्डले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २११ रन बनायो ।
पेस्ट इन्डिजका लागि रोभमन पावेलले ४५ बलमा ९ चौका र चार छक्काको मद्दतले अविजित ७९ रनको योगदान गरे । यसैगरी कप्तान साई होपले ४५, शिम्रन हेटमायरले २६ र जेसन होल्डरले २५ रन बनाए ।
छैटौं विकेटका लागि पावेल र होल्डरले ५२ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डका लागि लुक उडले तीन आदिल राशिदले दुई तथा बाइडेन कार्से, ज्याकोब बेथेल र लियम डव्सनले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २४८ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि बेन डकेटले ४६ बलमा १० चौका र दुई छक्कासहित सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी जिमी स्मिथले २६ बलमा पाँच छक्का र चार चौकाको मद्दतले ६०, ज्याकोब बेथेलले ३६, कप्तान ह्यारी ब्रुकले ३५ र जोस बटलरले २२ रन बनाए ।
पहिलो विकेटका लागि डकेट र स्मिथले १२० तथा चौथो विकेटका लागि बेथेल र ब्रुकले अविजित ७० रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि अकिल हुसेन, गुडाकेश मोती र शेर्फान रदरफोर्डले समान एक विकेट लिए ।