काठमाडौं । नेपालले जितका साथ आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत चौथो त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्त्य गरेको छ ।
मंगलबार स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । नेपालले प्रस्तुत गरेको २३७ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेदरलयान्ड्सले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र २२० रन बनाउन सक्यो ।
जितसँगै यस शृंखलामा नेपालले डच टोलीविरुद्ध क्लिन स्विप गर्यो । नेदरल्यान्ड्ससँगको पहिलो भेटमा नेपालले पाँच विकेटको विजयी हासिल गरेको थियो ।
विवादास्पद खेलमा नेदरल्यान्ड्सले पेनाल्टी उपहारमार्फत सोझै १० रन प्राप्त गरेको थियो । ब्याटिङका क्रममा उचित कारण विना स्ट्राइकमा रहेका वसीर अहमद पिचको मध्यभागमा हिँडेका कारण नेपाललाई दुई पटक समान पाँच रनको पेनाल्टी दिइएको थियो ।
नेदरल्यान्ड्सका लागि तेस्रो नम्बरका ब्याटर वेस्ली बरेसीले ६० बलमा तीन चौकासहित सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै कप्तान स्कट एडवार्ड्सले ४७ बलमा दुई चौकासहित ३० रन बनाउँदा ओपनर माइकल लेभिटले २७ बलमा तीन चौका र एक छक्कासहित २७ रन जोडे । यसैगरी काइल क्लेइनले २५, नोवा क्रोयसले २२, तेजा निदामनुरुले १७ र रोयलोफ भान दर मेर्वेले १६ रन बनाए । बाँकी चार खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका नन्दन यादव र सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । नन्दनले ९ ओभरमा एक मेडनसहित ३९ रन खर्चिएका थिए । पूरा १० ओभर बलिङ गरेका सन्दीपले पनि उतिनै रन खर्चिए ।

यसैगरी ललित राजवंशीले एक मेडनसहित दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए । खेलको अन्तिम विकेट करणको नाममा रह्यो । उनले ११औं नम्बरमा ब्याटिङ गर्न आएका पल भान मिकेरेनलाई आरिफ सेखबाट क्याच गराएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आरिफ शेखको अर्धशतप्रेरित निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि पाँचौं नम्बरका ब्याटर आरिफले ८५ बलमा दुई छक्का र सात चौकासहित सर्वाधिक ८४ रनको योगदान गरे । एकदिवसीय क्रिकेटमा २७ वर्षीय आरिफको यो उच्च स्कोर हो । यस शृंखलामा आरिफको यो दोस्रो अर्धशतक हो । उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध नै ७८ रनको पारी खेलेका थिए ।
तेस्रो नम्बरका ब्याटर भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५ रनको योगदान गर्दा ओपनर कुशल भुर्तेलले १८ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । यसैगरी मध्यक्रमका ब्याटर बसिर (अहमद) र अलराउन्डर करण (केसी)ले समान ११ तथा बलर नन्दन (यादव)ले अविजित १० रन बनाए ।
नेदरल्यान्डका लागि पल भान मिकेरेनले चार, माइकल (लेभिट)ले तीन तथा आर्यन दत्तले एक विकेट लिए ।
नेपालले आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको थियो । स्कटल्यान्डसँगको दोस्रो खेलमा भने नेपालले दुई दिनअघि मात्र दुई रनको नमिठो हार बेहोरेको थियो ।

शृंखलामा नेदरल्यान्ड्सको यो लगातार तेस्रो हार हो । नेपालविरुद्धको दुई हारबीच दोस्रो खेलमा नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो ।
मंगलबारको नतिजासँगै सातौं स्थानमा यथावत नेपालले १६ खेलमा १२ अंक जोडेको छ । २३ खेलमा २६ अंक जोडेको नेदरल्यान्ड्स अंकतालिकाको दोस्रो स्थानमा छ । १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।
लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।
नेपालले अब अक्टोबरमा संयुक्त अरब इमिरेट्स (युएई)मा आफ्नो पाँचौं शृंखला खेल्नेछ । जहाँ नेपालले घरेलु टोलीसँगै संयुक्त राज्य अमेरिकासँग खेल्नेछ । युएई १६ खेलमा ६ अंक जोड्दै तालिकाको पुछारमा छ भने संयुक्त राज्य अमेरिका २० खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा छ ।