काठमाडौं । मधेश प्रदेशले राष्ट्रिय यु-१६ प्रतियोगितामा मंगलबार लुम्बिनी प्रदेशविरुद्ध दुई विकेटको जित दर्ता गरेको छ ।
चौथो जितसँगै ६ खेलमा आठ अंक जोडेको मधेश शीर्ष स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी चार खेलबाट चार अंकका साथ चौथो स्थानमा छ ।
वीरेन्द्रनगर क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको १२७ रनको लक्ष्य मधेशले २५.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
मधेशका सन्तु मण्डलले २८ रन जोडे, आयन मुखियाले २३, नमइर अहमदले १९, माही यादवले १५ तथा सुसान्त सिंहले १२ रन बनाए ।
लुम्बिनीका लागि सुभम खनाल र प्रिन्स पालले समान तीन तथा लक्ष्मण कुमालले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १२६ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि रौनक श्रीवास्तवले ४० र केशव विष्टले २५ रन बनाउनुबाहेक ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेशका लागि अभय यादव, सलमान अली मन्सुरी र रोहन यादवले समान दुई तथा राजिवकुमा साद र नुमइर अहमदले समान एक विकेट लिए ।