एसेस टेस्ट शृंखला

रुटले तत्काल कप्तानी नछोड्ने वोक्सको विश्वास

सिड्नी । इङ्ल्यान्डका अलराउन्डर क्रिस वोक्सले एसेस टेस्ट शृंखला अस्ट्रेलियालाई सुम्पिए पनि जो रुटले नै टोलीको कप्तानीमा निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार तेस्रो दिन नै अस्ट्रेलियाले एक इनिङ र १४ रनको जितसहित एसेस शृंखला ३-० ले आफ्नो पक्षमा पारेको थियो । शृंखलाको दुई टेस्ट भने बाँकी छ । रुटको कप्तानीमा इङ्ल्यान्डले लगातार तीन पटक एसेस शृंखला गुमाइसकेको छ ।

‘जो रुटसँग टोली नेतृत्व गर्ने क्षमता छ’, वोक्सले भने, ‘त्यसैले एसेस शृंखलामा बाँकी दुई खेलमा पनि इङ्ल्यान्ड टोली उनकै कप्तानीमा मैदान उत्रनेमा म विश्वस्त छु ।’

मेलनबर्नमा सम्पन्न तेस्रो टेस्टमा पराजित भएपछि रुटले अहिले नै आफ्नो भविष्यका बारेमा सोच्नु हतार हुने प्रतिक्रिया दिएका थिए ।

सन् २०१७  मा कप्तानीको जिम्मेवारी पाएका रुटले जनवरी चारबाट सिड्नीमा सुरु हुने चौथो टेस्टसँगै  एलेस्टर कुकको नाममा रहेको सर्वाधिक टेस्ट कप्तानीको कीर्तिमान तोड्ने छन् । कुकको कप्तानीमा इङ्ल्यान्डले ५९ टेस्ट खेलेको थियो । रुटका लागि चौथो खेल इङ्लिस टोलीको कप्तानको रुपमा ६०औं टेस्ट हुनेछ ।

रुटको कप्तानीमा इङ्ल्यान्डले २७ टेस्ट खेल जितेको छ भने २४ टेस्ट खेल हारेको छ । 

इङ्ल्यान्ड टोलीले ब्याटिङमा संघर्ष गरिरहँदा रुटका लागि भने यस वर्ष उत्कृष्ट रह्यो ।उनले यस वर्ष टेस्ट क्रिकेटमा एक हजार ७ सय ८ रन बनाए । 

‘हामीले स्वभाविक लय अनुसार ब्याटिङ गर्न सकिरहेका छैनौ’, वोक्सले भने, ‘रुट कै नेतृत्वमा हामीले अझ धेरै वर्ष खेल्छौ भन्नेमा म विश्वस्त छु । आशा छ हामी छिट्टै्र स्वभाविक लयमा फर्कने छौ ।’