एसेस टेस्ट शृंखला

सन् २०१९ को एसेस शृंखलामा रक्षात्मक खेल्नु मेरो गल्तीः वार्नर

सिड्नी । अस्ट्रेलियाका ओपनर डेविड वार्नरले सन् २०२३ मा इङ्ल्यान्डमा एसेस शृंखला खेल्दा त्यसले सन् २०१९ को आफ्नो खराब प्रदर्शनलाई बिर्साउने विश्वास व्यक्त गरेका छन् ।

३५ वर्षे वार्नर गत महिना सम्पन्न ट्वान्टी२० विश्वकप क्रिकेटमा सर्वाेउत्कृष्ट खेलाडी घोषित भएका थिए ।

सन् २०१३ र २०१५ मा अस्ट्रेलियाले एसेस शृंखला हार्दा उनी त्यस टोलीका सदस्य थिए । सन् २०१९ मा वार्नरलाई १० इनिङ मध्ये ७ इनिङमा स्टुवार्ट ब्रोडले पवेलियनको बाटो देखाएका थिए । २-२ को बराबरीमा सकिएको उक्त शृंखलामा वार्नरले मात्र ९५ रन जोडेका थिए ।

‘हामीले घरेलु मैदानमा एसेस टेस्ट शृंखला जितेका छौ, यो खुशीको क्षण हो । पछिल्लो समय हामीले इङ्ल्यान्डलाई पनि उनीहरुकै घरेलु मैदानमा हराउन सकेका छैनौ । हामी त्यो उपलब्धी पनि हात पार्न चाहन्छौ.’ वार्नरले भने. ‘यद्धपी हामीले शृंखला भने बराबरी गरेका छौ । तर टोलीमा अवसर पाएको खण्डमा म इङ्ल्यान्डमा उत्कृष्ट प्रदर्शन गर्दै विगतको खराब प्रदर्शनलाई मेटाउन चाहन्छु ।’

वार्नरले ८९ टेस्टमा सात हजार पाँच सय ५१ रन बनााएका छन्, जसमा २४ शतक समावेश छ । तर उनी सन् २०१९ मा इङ्ल्यान्डमा सम्पन्न एसेस शृंखलामा स्वभाविक प्रदर्शनबाट चुकेका थिए ।

‘सन् २०१९ को एसेसमा ब्रोडले निकै राम्रो प्रदर्शन गर्दैै म मात्र नभई मेरो टोलीलाई नै दबाबमा राखेका थिए’ , वार्नरले भने, ‘मैले त्यो भ्रमणमा रणनिती अनुसारको प्रदर्शन गर्न सकिन । मैले रक्षात्मक खेल्न खोजे,जुन मेरो स्वभाविक खेल थिएन । त्यो नै मेरो गल्ती थियो ।'