भारतीय क्रिकेट

गांगुलीको अवस्था स्थिर

नयाँदिल्ली । कोभिड १९ संक्रमितपछि अस्पताल भर्ना भएका भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीको अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ ।

आइतबार हल्का ज्वरो आएपछि पिसिआर परीक्षणमा कोभिड पोजिटिभ देखिएसँगै गांगुलीलाई कलकत्तास्थित वुडल्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो ।

‘गांगुलीलाई सोही रात मोनोक्लोनल एन्टिबडी थेरापी दिइयो र हाल उनको स्वास्थ्य अवस्था स्थिर छ । अस्पतालका डाक्टरको टोलीले गांगुलीको स्थितीलाई नजिकबाट नियालिरहेको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  

वर्षको सुरुआतमा पूर्व भारतीय कप्तान ४९ वर्षिय गांगुली छातीको समस्याका कारण दुई पटक अस्पताल भर्ना भएका थिए ।