एसिसी यु १९ एसिया कप

अफिसियलमा कोभिड संक्रमण पुष्टि भएपछि श्रीलंका र बंगलादेशबीचको खेल स्थगित

काठमाडौं । एसिसी यु १९ एसिया कपअन्तर्गत समूह बीअन्तर्गत सारजाहमा जारी बंगलादेश र श्रीलंकाबीचको खेल स्थगित भएको छ । एसियाली क्रिकेट महासंघ (एसिसी) र इमिरेट्स क्रिकेट बोर्डले दुई दुई अफिसियलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै खेल स्थगित गरेको जानकारी दिएको छ ।

‘दुई अफिसियललाई कोरोना संक्रमण भएको पुष्टि भएको छ,’ एसिसीले ट्वीट गर्दै भनेको छ, ‘अफिसियलहरू अहिले सुरक्षित छन्, र प्रतियोगिताको मापदण्डअनुसार उपचार पाइरहेका छन् । यो खेलसँग जोडिएका सबैको परीक्षण भइरहेको छ ।’

यसबारेमा थप जानकारी केही बेरमा दिने एसिसीले बताएको छ । खेल ३२.४ ओभरमा चल्दा टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशले ४ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।