बिग बास लिग

हुरिकेन्सको जितमा सन्दिप विकेटविहीन

क्यानबेरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्सले बिग बास लिगमा एडिलेड स्ट्राइकर्सलाई सात विकेटले पराजित गरेको छ ।

बेलेरिभ ओभलमा एक सय ७६ रनको लक्ष्य होबर्ट हुरिकेन्सले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।

हुरिकेन्सको जितमा बेन मेकडरमोटले शतकीय इनिङ खेले । अविजित एक सय १० रन जोडेका मेकडरमोटले ६० बलमा १२ चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै डिएरसी सर्टले ३७ रन जोडे ।

स्ट्राइकर्सका जर्ज गार्टन, पिटर सिडल र राशिद खानले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको एडिलेड स्ट्राइकर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७५ रनको योगफल तयार गरेको थियो ।

स्ट्राइकर्सका म्याट रेन्सले ६३ रन जोडे । त्यस्तै जेक वेथेराल्डले ५१, थोमस केलीले २८ र जोनाथन वेल्सले १७ रन जोडे ।

हुरिकेन्सका रिले मेरेडिथले तीन विकेट लिए । त्यस्तै टम रोजर्स र नाथन इलिसले एक/एक विकेट लिदाँ नेपाली कप्तान सन्दिप लामिछानेले भने विकेटविहिन रहे ।

तीन ओभर बलिङ गरेका सन्दिपले ३१ रन खर्चिए ।