भारत र दक्षिण अफ्रिका शृंखला

केएल राहुलको सतकमा भारतको दमदार सुरुआत

सेन्चुरियन । ओपनर केएल राहुलको कीर्तिमानी सतक प्रेरित भारतले दक्षिण अफ्रिकाविरुद्धको बक्सिङ डे टेस्टमा सानदार सुरुआत गर्ने क्रममा पहिलो दिन आइतबार तीन विकेटको क्षतिमा दुई सय ७२ रनको योगफल तयार गरेको छ ।

पहिलो दिनको खेल समाप्तीमा राहुल अविजित एक सय २२ तथा अजिन्क्या राहने ४० रन बनाएर क्रिजमा अविजित छन् ।

पहिलो दिन भारतविरुद्ध दक्षिण अफ्रिकाका लुंगी एनगिडी मात्र प्रभावकारी सावित भए । भारतका तीनै विकेट एनगिडीले लिएका थिए । त्यसक्रममा उनले १७ ओभर बलिङ गर्दै चार मेडनका साथ ४५ रन खर्चिए ।

पहिलो दिन भारतका लागि अर्का ओपनर मायंक अग्रवालले ६० रनको इनिङ खेले भने कप्तान विराट कोहलीले ३५ रन बनाए ।

दक्षिण अफ्रिकामा भारतीय ब्याटरको अहिलेसम्मकै सर्वोत्कृष्ट प्रदर्शन गर्ने क्रममा उपकप्तान राहुलले दुई सय ४८ बल सामना गर्दै १६ चौका र एक छक्का प्रहार गरेका थिए । राहुलको यो सातौं टेस्ट सतक हो ।

कोहलीले टस जितेर पहिला ब्याटिङ रोजेको खेलमा मायंकले एक सय २३ बल सामना गर्दै ९ चौका प्रहार गरे भने राहनेले ८१ बलमा आठ चौका हानिसकेका छन् ।

कोहली स्वयमले भने ९४ बलमा चार चौका प्रहार गरेका थिए ।