यु १९ एसिया कपको

नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं । श्रीलंकासँग ६० रनले पराजित भएपछि नेपाल एसिसी यु १९ एसिया कपको समुह चरणबाटै बाहिरिएको छ । 

युएईको सारजहाँ क्रिकेट मैदानमा सम्पन्न समूह' बी' को दोस्रो खेलमा श्रीलंकाले प्रस्तसत गरेको तीन सय २३ रनको लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा दुई सय ६२ रनमा अलआउट भयो ।

नेपालका लागि अर्जुन साउदले ६४, विवेक यादवले ४६ र वासिर अहमदले ४३ रन जोडे । 

श्रीलंकाका मथिसा पाथिराना र रभिन डी सिल्भाले समान दुई विकेट लिए ।

नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपालले बंगलादेशलाई एक सय ५४ रनको नतिजा सुम्पिएको थियो । 

नेपालले तेस्रो खेलमा मंगलबार कुवेतको सामना गर्नेछ । 

यसअघि टस जितेर फिल्डिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रनको योगफल तयार गर्यो ।

श्रीलंकाका लागि ओपनर चामिन्डु विक्रमासिङ्गेले १ सय ११ रनको शतकीय इनिङ खेले । चामिन्डुले दोस्रो विकेटका लागि शदिशा राजपाक्षसँग २ सय २३ रनको साझेदारी गर्दै १२६ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै, राजापाक्षले ११९ बलमा ११ चौका र २ छक्कासहित १ सय ३१ रनको शानदार शतक बनाए । कप्तान दिनुथ वेल्लागेले अविजित ३४ रन बनाएका थिए । यस्तै, शेभोन ड्यानियलले १७ तथा यासिरु रोडरिगोले ६ रन जोडे ।

नेपालका लागि मोहम्मद अदिल आलमले २ तथा कप्तान देव खनाल र विवेक यादवले १ विकेट लिए ।