प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

एपिएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

धनगढी । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पियन भएको हो ।

प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्‍यो । एपिएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाइन् । ममता चौधरीले १७ रन थपिन् ।

 ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योती र ममताले जितसम्म डोर्याएकी हुन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् । खेलमा एपिएफकी ज्योती पाण्डेय प्लेयर अफ द म्याच भइन् ।