एसिसी यु १९ एसिया कप

बंगलादेशविरुद्ध नेपाली युवा टोलीलाई दुई सय ९८ रनको लक्ष्य

काठमाडौं । एसिसी यु १९ एसिया कपको पहिलो खेलमा नेपालले शुक्रबार बंगलादेशविरुद्ध दुई सय ९८ रनको लक्ष्य पाएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशी युवा टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै दुई सय ९७ रनको योगफल बनायो ।

प्रंतिक नरोज नबिलले अविजित सतक प्रहार गरेको इनिङमा बंगलादेशका लागि विकेटकिपर ब्याटर मोहम्मद फाहिमले अर्धसतक बनाए ।

एक सय १२ बल सामना गरेका नबिलले ११ चौका र एक छक्कासहित अविजित एक सय २७रन बनाउँदा फाहिमले ५४ बलमा तीन चौका र तीन छक्कासहित ५८ रनको इनिङ खेले । यसैगरी बंगलादेशका लागि एइच मोलाहले २२ रन बनाउँदा इफ्तखेर होसेन र एसएम मेहरोबले समान २१ रन जोडे । ओपनर माहफिजुल इस्लामले १७ रन बनाएका थिए ।

नेपालका गुल्सन झा, तिलक भण्डारी र मोहम्मद आदिल अलामले एक/एक विकेट लिए ।