भैरहवा । आइसिसी महिला यु-१९ विश्वकपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय टोलीकी सदस्य तृष्णा विश्वकर्मा गृहनगरमा सम्मानित भएकी छन् ।
उनलाई ओमसतिया गाउँपालिकाले शुक्रबार दोसल्ला ५१ हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मान गर्यो ।
तृष्णा ओमसतिया गाउँपालिका वडा नम्बर १ ,नयाँ गाउँकी स्थायी बासिन्दा हुन् ।
तृष्णालाई गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा नम्बर १ का अध्यक्ष जगतबहादुर थापा, प्रशासन प्रमुख रूपा थापा लगायतले सम्मान गरेका थिए ।
सम्मनित भएपछि तृष्णाले आफूलाई थप उत्साह र हौसला प्राप्त भएको जनाउदै विश्वकपमा नेपाली महिला टिमले राम्रो प्रदर्शन गर्ने बताइन् ।
अध्यक्ष यादवले खेलकुदलाई अघि बढाउन साथ सहयोग सदैव रहने भन्दै छोरीलाई क्रिकेटमा लगाएमा तृष्णाका बुवा, आमालाई धन्यवाद दिए ।
तृष्णाका बुवा चन्द्रभान विश्वकर्माले छोरीले मेहनत गरे अनुसारको प्रतिफल प्राप्त गरेको बताए ।
भर्खरै युएईमा सम्पन्न एसिया छनोट क्षेत्रको च्याम्पियन बन्दै नेपालले पहिलो पटक आइसिसी महिला यु-१९ विश्वकपमा स्थान बनाएको थियो ।