क्रिकेट

क्लुस्नरले अफगानी क्रिकेट टोलीमा सम्झौता नवीकरण नगर्ने

दुबई । अफगानिस्तान क्रिकेट टिमका मुख्य प्रशिक्षक लान्स क्लुस्नरले डिसेम्बर ३१ मा सम्झौता सकिएपछि अफगानी टिमसँगको सहकार्यमा पूर्णविराम लगाउने निर्णय सार्वजनिक गरेका छन् ।

दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर क्लुस्नर २०१९ को सेप्टेम्बरमा दुई वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै गृहयुद्धको चपेटामा रहेको अफगानी क्रिकेटको मुख्य प्रशिक्षक बनेका थिए । क्लुस्नरले २०१९ को एकदिवसीय विश्वकपपछि टिम छोडेका फिल सिमोन्सलाई स्थानान्तरण गर्दै अफगानी टोलीको नेतृत्व सम्हालेका थिए ।

‘टिममा दूई वर्ष बिताएपछि केही स्मरणीय क्षणहरुको सम्झना मसँग रहनेछ,’ क्लुस्नरले सोमबार पत्रकार सम्मेलनमा भने, ‘अफगानिस्तानको क्रिकेट संरचना र टिमबाट बाहिरिएपछि म योभन्दा माथिल्लो स्तरमा आफ्नो प्रशिक्षण करियरका अवसरहरु खोज्नेछु ।’

क्लुस्नरको कार्यकालमा तीनवटै स्वरुपमा राम्रो प्रदर्शन गर्ने क्रममा अफगानिस्तानले एक टेस्ट जित्नुका साथै ६ मध्येका तीन एकदिवसीय अन्तर्राष्ट्रिय र १४ मध्ये नौं ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको थियो । संयुक्त अरब इमिरेट्स (युएई)मा हालै सम्पन्न ट्वान्टी २० विश्वकपमा भने सुपर १२ का पाँचमध्ये दुई खेलमात्र जित्न सकेको टोली नकआउट चरण पुग्न असफल भएको थियो ।

खेलाडीका रुपमा १९९६ देखि २००४ सम्ममा क्लुस्नरले दक्षिण अफ्रिकाबाट ४९ टेस्ट र एक सय ७१ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यसक्रममा उनले टेस्टमा एक हजार नौं सय आठ रन बनाउनुका साथै ८० विकेट लिएका थिए भने एकदिवसीय अन्तर्राष्ट्रियमा तीन हजार पाँच सय ७६ रन बनाउनुका साथै एक सय ९२ विकेट लिएका थिए ।