वाइवाई यु-१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

लुम्बिनी र प्रदेश एक विजयी

काठमाडौं । कप्तान देव खनालको अर्धशतकप्रेरित लुम्बिनी प्रदेशले यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमलाई दुई विकेटले हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमले प्रस्तुत गरेको दुई सय ४० रनको लक्ष्य लुम्बिनीले ४८.३ ओभरमा आठ विकेट गुमाएर पुरा गर्याे।

लुम्बिनीका लागि कप्तान देवले एक सय ३२ बलमा तीन छक्का र आठ चौका सहित ९२ रन बनाए । 
वासिर एमदले ३८, विराट भण्डारीले ३२ र विशालविक्रम शाहले २० रन जोडे ।

सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट, शेर मल्लले दुई, नरेन्द्र साउद र खडक बोहोराले समान एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमका लागि नारायण जोशीले अर्धशतक प्रहार गरेका थिए । उनले ७४ बलमा तीन छक्का र चार चौकासहित ६५ रन गरेका थिए ।

बसन्त कार्कीले ५७, राहुल भण्डारीले ३७ र शेर मल्लले २४ रन गरे ।

लुम्बिनीका मोहम्मद हुसेनले सर्वाधिक चार विकेट लिएका थिए । यस्तै दुर्गेस गुप्ताले दुई तथा राहुल चौधरी, वासिर र विशालविक्रमले समान एक विकेट लिए ।

यस्तै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा प्रदेश दुईलाई प्रदेश एकले सात विकेटले पराजित गर्यो ।

प्रदेश दुईले प्रस्तुत गरेको दुई सय ११ रनको लक्ष्य प्रदेश एकले ४४.१ ओभरमा तीन विकेटको क्षतीमा पुरा गर्याे ।